घडेरी(भूमि) किन्दा यस्ता कुरा ख्याल गर्नुस

पृथ्वी, जल, तेज, वायु र आकाशको समानान्तरताका रूपमा फेङ्स्वेमा काठ, आगो, स्वर्ण, जल र पृथ्वीलाई उल्लेख गरेको पाइन्छ । तात्विक रूपमा यी तत्वका बीचमा पृथक्ता छैन । उपर्युक्त पञ्चतत्वलाई प्राचीन स्थापत्य वेदका विद्वान्हरूले समुचित प्रयोग गरी मानवजीवन कसरी सरल र सरस बनाउन सकिन्छ भनेर अनेकौं प्रयोग गर्दै अनेकौं पुस्तासम्म अन्वेषण तथा अनुसन्धान गर्दै वंशाणुगत खोज र अन्वेषणको कार्यलाई निरन्तरता दिएको देखिन्छ ।

उनीहरू मानवजीवनलाई सरल, सरस र सहज बनाउन पुस्तौं–पुस्तादेखि प्रयासरत रहेको प्रष्ट छ । प्राचीन बन्दै गएका तथ्यलाई रूढीवादी र अन्धविश्वास भन्दै आधुनिक भनाउने मानवले विकृतिका रूपमा त्यस्ता राम्रा तथ्यलाई लिने हुँदा कहिल्यै सफल भएनन् र सुखी जीवन कहिल्यै प्राप्त गर्न सकेनन् भन्ने प्रष्ट छ । पृथिवी, जल, तेज, वायु, आकाश र भूमिलाई समुचित सामञ्जस्य मिलाउन निम्न तथ्यलाई अवलम्बन गर्नुपर्दछ । जसले मानवजीवन सरल, सरस र सहज बनाउन सघाउ पुयाउँछ ।

दिशा र पञ्चतत्वको अवस्था

उत्तर– पूर्व, ईशान पानी
पूर्व– दक्षिण, अग्निकोण आगो
दक्षिण– पश्चिम, नैर्ऋत्य पृथ्वी

पश्चिम– उत्तर वायव्य हावा
उत्तर– ईशान, मध्यभाग आकाश
पञ्चतत्वको मेलमा वास्तुशास्त्रीय आधारहरू निर्माण भएका छन् । तत्वका बीचको घर्षणले संसारको सृष्टिको सामञ्जस्य भएको देखिन्छ । यही क्रममा मानवको निवासको सामञ्जस्य कसरी गर्न सकिन्छ भन्ने प्रष्ट्याउन सकिन्छ ।

घडेरीको छनौट–

प्राचीन वैदिक वास्तु–शास्त्रमा घर तथा व्यावसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्ट्याउन निम्न कुराको गहिरो विचार–विमर्श र विश्लेषण गर्ने गरेको पाइन्छ ।

माटोको रङ्गका आधारमा–

घर बनाउन लागेको घडेरीको माटोको रङ्ग कस्तो छ भनेर वास्तु–शास्त्रका आधारमा पाँच तरिकाले परीक्षण गरिन्छ ।
ब्राह्मणी घडेरी– छुँदा नरम, हेर्दा कमेरो माटो, मीठो स्वाद दिने खालको माटो भएको घडेरी ब्राह्मणी नामले चिनिन्छ । यस्तो ठाउँमा घर बनाउनाले सुख, समृद्धि, शान्ति पाइन्छ । यस्तो घडेरी सर्वाेत्तम मानिन्छ ।

क्षत्रीया घडेरी– रातो माटो भएको, छुँदा अलि कठोर, चाम्रो, डल्ला–डल्ला परेको, धुजा–धुजा परेर माथि–माथि चर्केको चिम्ट्याइलो भूमिलाई क्षत्रीय घडेरी भनिन्छ । यस्तो घडेरी बलवर्धक, तेज र वीरता बढाउने हुन्छ । यस्तो घडेरी उत्तम मानिन्छ ।

वैश्या घडेरी– पहेलो रङ्ग अथवा हरियो रङ्ग भएको, छुँदा धेरै कडा वा नरम नभएको मध्यम खालको माटोको स्वाद अमिलो–अमिलो भएको घडेरीलाई वैश्या घडेरी भनिन्छ । यस्तो घडेरीमा उद्योग व्यापारका लागि भवन निर्माण गर्न सकिन्छ ।

शूद्रा घडेरी– छुँदा साह्रै अरम परेको, कठोरकालो रङ्ग भएको, स्वाद नमीठो भएको घडेरीलाई शूद्रा घडेरी भनिन्छ । आवासका लागि यस्तो घडेरी राम्रो मानिदैन । कुनै व्यावसायिक भवन निर्माणको काम गर्नु नै राम्रो हुन्छ । रङ्ग, सुगन्ध, अवस्था मिश्रित भूमिमा स्कूल, क्याम्पस र शिक्षा प्रदान गर्ने भवन निर्माण गर्नु शुभ मानिन्छ

ब्राह्मणी भूमि ज्ञान– विज्ञान व्यापारी गृहस्थीदेखि लिएर सबैका लगि सर्वाेत्तम, क्षत्रीया भूमि कल कारखाना, किल्ला, ब्यारेक, तालिम केन्द्र बनाउन उत्तम, व्यापारिक क्षेत्र, व्यावसायिक प्रतिष्ठान, कल कारखाना, गोदाम, बजारआदि बनाउन वैश्य भूमि शुभ हुन्छ । शूद्र भूमि कठोर फलाम, सीमेन्ट उद्योग कार्यका लागि, वृक्षारोपण, औषधी–निर्माण केन्द्र र हस्पिटलका लागि राम्रो मानिन्छ । यदि वास्तुको नियमलाई भङ्ग वा अतिक्रमण गरिएमा राम्रो हुँदैन ।

समतलताका आधारमा
वास्तु–शास्त्रमा समतलताको आधारमा घडेरीलाई मुख्य चार प्रकारमा विभाजन गर्न सकिन्छ ।

कूर्मपृष्ठ– बीचमा अग्लो एवम् चारैतर्फ भिरालो भएको घडेरीलाई कूर्मपृष्ठ (कछुवा ढाडे) घडेरी भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले जीवनमा सुख, समृद्धि, उल्लास र बलवृद्धि हुन्छ ।
गजपृष्ठ– जुन घडेरी चार कुना उठेको छ र बीचमा सामान्य होचो छ, त्यस्तो घडेरीलाई गजपृष्ठ (हात्तीढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा निवास गर्नाले आयु, आरोग्य, ज्ञान र धनको वृद्धि हुन्छ ।

दैत्यपृष्ठ– जुन घडेरी पूर्व र उत्तरतिर अग्लो र पश्चिमतिर होचो छ, त्यस्तो घडेरीलाई दैत्यपृष्ठ (दैत्यढाडे) घडेरी भनिन्छ । यस्तो ठाउँमा आवास बनाउनाले हानी हुन्छ । विशेष गरेर चौपाया, सन्तति र आर्थिक पक्षआदिमा समस्या उत्पन्न हुनसक्छ ।

नागपृष्ठ– पश्चिम–पूर्वमा लामो सोतो भएको, माझमा होचो, दक्षिण–उत्तरमा अग्लो भएर उठेको घडेरीलाई नागपृष्ठ (नागढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा आवास गर्नाले घरमूलीको स्वास्थ्य, आफन्त, बन्धु–बान्धवसँग झै–झगडा र दुःख हुन्छ । मुख्य गरेर उपरोक्त चारप्रकारका घडेरीबाहेक अरु गोवीथी, गजवीथी, यमवीथी, भूतवीथी, वैश्वानरवीथी, धनवीथीआदिमा पनि विभाजन गरेको पाइन्छ ।

पत्र–पत्रका आधारमा
भूमिमा माटो, ढुङ्गा, ग्यास, खनिज पदार्थ र पानीको समन्वय भएको हुन्छ । माटो विभिन्न चट्टान, पत्र–पत्र परेको विभिन्न खालको हुन्छ । एकै ठाउँमा पनि खन्दै जाँदा विभिन्न परतहरू पाइन्छ । पत्रका आधारमा भूमिलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ–

कडा– कडाखालको पत्रले युक्त भएको भूमिलाई कडा भूमि भनिन्छ । यस्तो भूमि पानी जम्मा भए पनि धसिँदैन । यस्तो भूमि चिरा–चिरा भएर फुट्दैन । यस्तो भूमिमा आवास बनाउन सर्वाेत्तम हुन्छ ।

सामान्य– आकाशबाट परेको पानीलाई केही मात्रामा शोषण गर्नसक्ने, नरम खालको, चिरा–चिरा नभएको भूमिलाई सामान्य भूमि भनिन्छ । यस्तोमा आवास बनाउन सामान्य मानिन्छ ।
गेंगरी– बालुवा, स–साना ढुङ्गा मिसिएको, खस्रो खालको, चार हातदेखि सात हातसम्ममा कतै बालुवा, कतै ढुङ्गा, कतै कडा माटो भएको भूमिलाई गेंगरी भूमि भनिन्छ । यस्तो भूमि आवासका लागि उत्तम मानिदैन ।

पाकिला– बाक्लो माटो भएको, विभिन्न खालका रङ्ग भएको माटो, कतै ढ¥याङ परेको भूमिलाई पाकिला भूमि भनिन्छ । यस्तोमा कलकारखाना बनाउनु राम्रो हुन्छ ।

उब्जनीका आधारमा

वास्तु–शास्त्रले घडेरीको शुभाशुभको लागि उब्जनीका आधारमा यसरी चार प्रकारले वर्गीकरण गरेको पाइन्छ ः
सर्वाेत्तम– जुन भूमि हरियो–परियो छ । जसमा अमला, आँप, पलाँसआदिका फलफूलहरू पहिलेदेखि नै उब्जिने गरेका छन्, त्यस्तो भूमिलाई सर्वाेत्तम भूमि भनिन्छ । यस्तो भूमिमा आवास बनाउन सर्वाेत्तम हुन्छ ।

उत्तम– जुन भूमिमा कृषि कार्यको रूपमा बाली लगाउँदै गरिएको छ । त्यसमा बालीको उब्जनी पनि राम्रो भइराखेको छ भने त्यस्तो भूमिलाई उत्तम भूमि भनिन्छ । यस्तोमा आवास बनाउनु शुभ मानिन्छ ।

सामान्य– जुन भूमिमा फूलहरूका बुट्टा, झाडी, काँडाघारी, जङ्गल छ र त्यसलाई फाँडेर घडेरी तयार गरिएको छ भने त्यस्तो भूमिलाई सामान्य भूमि मानिन्छ । यस्तो भूमि आवास निर्माणका लागि सामान्य मानिन्छ ।

निकृष्ट (नीच)– जुन भूमि जलथल (भासयुक्त) परेको, हिलो, पानी गन्ध आउने फोहोर प्याँक्ने ठाउँ, दुर्गन्धयुक्त स्थान–त्यस्तो भूमिलाई निकृष्ट भूमि भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले सुखप्राप्ति हुँदैन ।

दिशाका आधारमा–

आवास बनाउने घडेरीको मध्यभागबाट पर्ने दिशाहरूका आधारमा पनि घरमा बास बस्नेहरूलाई प्रभाव परिरहेको हुन्छ । त्यसैले वास्तु–शास्त्रमा यसका बारेमा पनि केही निश्चित नियमहरू उल्लेख गरिएका छन् ।

घडेरी समतल (राम्रो बराबर) ९०० कोणमा हुनुपर्दछ । बर्षातकालमा परेको पानीको वगाइ इशान कोणमा बग्ने हुनुपर्छ । वास्तु–शास्त्रमा आकाशबाट परेको पानीको वहावको आधारमा पनि शुभाशुभ हेर्ने गरेको पाइन्छ ।

उत्तर दिशामा बग्ने भएमा धन प्राप्ति, पश्चिमतिर बग्ने भएमा सन्तानमा समस्या, दक्षिणतिर बग्ने भएमा अशुभ फल दिने हुन्छ । पूर्वतिर बग्ने भएमा सम्पूर्ण क्षेत्रमा शुभ प्रभाव पार्ने हुन्छ । जुन घडेरीमा चारै कोण मिलेको छैन, त्यस्तो घडेरी पनि अशुभ मानिन्छ । तर, ईशान कोणमा चोसे भएको र ईशान बढेको भए शुभ मानिन्छ ।

यसरी आफ्नो आम्दानीको ठूलो हिस्सा लगानी गरेर बनाउने घरको घडेरी किन्दा नै धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमा पनि प्रमुख कुरा घरसम्म पुग्ने बाटो पहिलो प्राथमिकतामा पर्दछ । घडेरी किन्दा पहिले घरबाट पर्ने दिशाहरूमा पनि प्रष्ट ज्ञान हुनुपर्छ । साथै, घरबाट कता कता बाटो, वृक्ष, डाँडा, मन्दिर पर्छन्, यसका बारेमा प्रष्ट हुन आवश्यक हुन्छ ।

गन्धका आधारमा–

घडेरीका लागि खरिद गरिने कुनै पनि भूमिलाई गन्धका आधारमा पनि परीक्षण गर्न सकिन्छ । सामान्यतः मधुर सुगन्धयुक्त र स्वाद भएको भूमिमा घर बनाए सबै क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । रगतको जस्तो गन्ध आउने, छुँदा अलि कठोर लाग्ने भूमिमा ब्यारेक, छाउनी, तालिम÷प्रशिक्षण केन्द्रआदि बनाउन उचित हुन्छ । छुँदा खस्रो खालको, घ्यूको वासना आउने भूमिमा व्यापारिक प्रतिष्ठान बनाउन उचित हुन्छ । त्यसै गरी छुँदा कठोर, नराम्रो गन्ध आउने, तम्तम्याइलो स्वाद भएको भूमिमा कलकारखानाका कामदार बस्ने आवास बनाउन सकिन्छ ।

घडेरीबाट पर्ने बाटोको प्रभाव–
घरको अगल–बगल पर्ने बाटोले गर्दा राम्रो घडेरीले पनि नराम्रो प्रभाव पार्ने गर्दछ ।

दोबाटोको सङ्गम– घडेरीको कुनै पनि दिशामा दोबाटोको सङ्गम हुनसक्छ । यस्तो भएमा निम्नानुसार शुभाशुभ फल प्राप्त हुन्छ—
घडेरीबाट पूर्व या उत्तर दिशामा दोबाटो भए कुनै दोष हुँदैन । दक्षिणमा भए सामान्य दोष र पश्चिममा दोबाटो भए सामान्य दोष हुन्छ । घडेरीलाई चारैतिरबाट बाटोले काटेको छ दोष हुँदैन । आवासको नजिक अर्थात् सय हातसम्ममा वर, पीपल आदिको रुख भएमा दोष लाग्छ ।

घरको छेउछाउमा ठूला रुख, स्तम्भआदि छन् र त्यसको छायाँ बिहानको १२ बजेसम्म घरको छानामा पर्छ भने त्यो पनि अशुभ हुन्छ ।
घरको अगाडि दूध आउने वा काँडा भएको रुख रोप्नु हुँदैन ।
घडेरीको उत्तर, पूर्व वा ईशानकोणमा ठूलो रुख, डाँडो भएमा र त्यसको छायाँ घरको छानामा परिराखेमा साथै दैलो अगाडि ठूलो खाँबो ठडिएको भएमा पनि दोषयुक्त हुन्छ । घडेरीको पश्चिम, दक्षिण अथवा आग्नेय कोणमा कुनै जलाशय, खाल्डो, पुलपुलेसाआदि भएमा घडेरी दोषयुक्त मानिन्छ ।

यदि कुनै पनि पानीको मूल पूर्व दिशामा छ र त्यसको बगाइ अर्थात् निकास पश्चिमदेखि पूर्व या दक्षिणदेखि उत्तरतिर छ भने दोष लाग्दैन ।
घडेरीको छेउ–छाउमा झाडी, पुरानो किल्ला, राजप्रासाद (राजदरबारको भग्नावशेष) हुनु राम्रो हँुदैन । पुराना र्इंटा, किल्ला, श्मशानका दाउरा पनि घरमा पर्नुहुँदैन अर्थात् प्रयोग गर्नुहुँदैन ।

घडेरीमा जग खन्दा, डोब खन्दा, शालिग्राम, शङ्खआदि आकृति भएका पत्थर, कछुवा, शुभ धातु, सग्ला ईटा, स्वर्ण, आभूषण, सिक्काआदि प्राप्त भएमा शुभ मानिन्छ ।

घर बनाउनुपूर्व विचारणीय कुराहरू–

आवासका लागि वा अन्य कुनै प्रयोजनका लागि निर्माण गरिने भवन र प्रतिष्ठानआदिको घडेरी लिँदा गृहप्रवेशदेखि अन्तरिक सजावट र कोठा निर्धारणसम्म ध्यान दिनुपर्दछ । त्यसमा पनि वास्तु–शास्त्रअनुसार उपयुक्त घडेरी खरिद गर्नुपर्दछ । त्यसपछि सम्पूर्ण कुरा विचार गरेर पहिले शिलान्यासको मूहुर्तमा विद्वान् वास्तुविद् (ज्योतिषविद्)सँग परामर्श लिनुपर्दछ । साथै शुभ मुहूर्तमा निर्माण कार्य प्रारम्भ गर्नुपर्दछ । मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानवको जीवनमा पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्दछ ।
भूमि– विभिन्न कोणबाट शुभ भूमिको चयन गर्नुपर्दछ ।

पानी– भवन निर्माणदेखि नै पानी चाहिने भएकाले पानीको स्थान पूर्वाेत्तर अर्थात् ईशान कोणमा उचित मानिन्छ । इनार कुवाका लागि ईशानकोणमा पानीको स्रोत बनाउनुपर्दछ । पानीको स्रोत निर्माणका लागि पर्याप्त जग्गा पनि घर बनाउनु पूर्व नै छोड्नुपर्दछ । ईशानमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्याङ्कीको पानी ईशानमा झर्ने गरी एउटा धारो बनाउनुपर्दछ । जल नै जीवन हो, जललाई जीवनको अभिन्न अङ्ग मानिन्छ ।

वायु– वायु (हावा) प्राणिक ऊर्जा, प्राणदायिनी शक्तिको रूपमा वायुलाई बुझिन्छ । भौगोलिक बनावटका आधारमा घरभित्र या बसोवास गर्ने ठाउ“मा शुद्ध हावाको प्रवेश अनिवार्य आवश्यकता हो । शुद्ध वायु नै जीवनदायिनी शक्ति हो । भवनको खपाइका लागि पनि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ हुनु परम आवश्यक मानिन्छ ।

अग्नि– अग्नि (तेज) तीन प्रकारका हुन्छन् । सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न कृत्रिम, पेटभित्र रहने जठराग्निलाई अग्निको रूपमा परिभाषित गरिएको पाइन्छ । अग्निको स्थान आग्नेय कोण हो र त्यही दिशामा भान्छा, जेनेरेटर, विद्युत्का सामान र तापस“ग सम्बन्धित सम्पूर्ण उपकरणहरू दक्ष्ँिणपूर्व आग्नेय कोणमा स्थापित गर्नुपर्दछ ।

आकाशः शब्दगुणकम् आकाशम् शब्द र गुणले सहित भएको नै आकाश हो । आकाश शब्दले खुलापन भन्ने अर्थ बुझाउँछ । ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो । निर्माण गर्दा घरको चारैपट्टि खुला छोड्नु उपयुक्त मानिन्छ । सुस्वास्थ्य, दीर्घायु र सुखशान्तिका लागि घरको वरिपरी वृक्षारोपण अत्यावश्यक छ । शुद्ध वायु, शुद्ध पानी, शुद्ध हावा, शुद्ध माटो र शुद्ध भूमि नै सफल जीवनको अभिव्यक्ति हो । जीवनमा सुखशान्ति र समृद्धिका लागि सम्पूर्ण तत्वको तालमेल मिलाएर बस्नु नै सफल जीवन हो ।