घरमा यो स्थानमा कछुवा राख्दा सुख शान्ति र धनको बास हुन्छ

अघिल्लो वर्षको विनाशकारी भूकम्पले भक्तपुर नासमनाकी बुद्धलक्ष्मी शिल्पकारको घर भत्कियो। अहिले बुद्धलक्ष्मी सोही स्थानमा भग्नावशेष हटाएर नयाँ घर बनाउँदै छन्। तल्लो तलाको गाह्रो उठाउने काम भइरहेको छ। नयाँ घरको जगमा भने उनले ढुंगाको राखेकी छन्। घर बलियो हुने विश्वासले घरको जगमा कछुवा राखेको उनी बताउँछिन्।‘कछुवाले घर थामिराख्छ नि। पहिलेको घर भत्कियो अब नभत्कियोस् भनेर कछुवा राखेको,’ उनले भनिन्। नासमनाकै मूर्तिकारले बनाएको कछुवाको मूर्ति उनले जगमा राखेकी हुन्।

कछुवाले भार थाम्ने विश्वास:कछुवाले घरको भार थाम्ने र जग बलियो हुने विश्वास काठमाडौं उपत्यकाका नेवारी समुदायमा विद्यमान छ। नेवारी संस्कृतिका जानकार भूप्रकाश जोशी भन्छन्, ‘घरको भार थाम्ने विश्वासका कारण नेवार समुदायमा घरको जगमा कछुवाको मूर्ति राख्ने चलन छ।’प्राचीन कालदेखि नै प्रचलनमा रहेको यो परम्परालाई काठमाडौंका नेवार समुदायले निरन्तरता दिँदै आएको हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ पनि नेवार समुदायले यसलाई कुनै न कुनै रुपले निरन्तरता दिँदै आएको बताउँछन्।

भूकम्पपछि निजी तथा सामुदायिक आवास पुनर्निर्माणका क्रममा पनि काठमाडौं उपत्यकाका नेवारले जगमा कछुवा राख्ने चलनलाई निरन्तरता दिँदै आएका छन्।दुई सयदेखि १५ सयका कछुवा:ढुंगाका कलात्मक कछुवा बेच्नेले अहिले प्रशस्त व्यापार गरिरहेका छन्। भक्तपुर नागपोखरीका आशाकाजी रञ्जितकार मूर्ति बनाउँछन्। घर बनाउने साइत परेका बेला दैनिक १५ वटासम्म कछुवाको मूर्ति बिक्री गरेको उनी बताउँछन्।

झन्डै नौ वर्षदेखि ढुंगाका सामान बनाउँदै आएका रञ्जितकार भन्छन्, ‘यसपालि वर्षाको मौसम गएपछि व्यापार बढ्न थालेको हो। मानिसहरू दुई सय रुपैयाँदेखि १५ सयसम्मका कछुवा खरिद गर्छन्।’ भूकम्पले भत्किएका घर बनाउन थालिएकाले हिजोआज अरु देवीदेउताका मूर्ति र सामानभन्दा कछुवा नै बनाइरहेको उनले बताए।‘अरु मूर्ति कहिलेकाहीँ मात्र बिक्री हुन्छ तर आजभोलि धेरै बिक्री हुने कछुवा नै हो,’ उनले भने।

नयाँ भवन बनाउँदा जगमा ढुंगाको कछुवाको मूर्ति राख्ने चलनले गर्दा नेपाली प्रस्तर कलाको पनि प्रवर्द्धन भएको रञ्जितकारको भनाइ छ।माटो र तामाको कछुवा:उपत्यकाका नेवार समुदायमा घर बनाउँदा जगमा ढुंगाको कछुवा राख्ने चलन भए पनि कसैकसैले माटो र तामाका कछुवा पनि राख्ने गर्छन्। कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मात्र राखिने भएकाले सजिलोका लागि माटो र तामाका कछुवा राख्ने गरेको भूप्रकाश जोशी बताउँछन्।

वास्तुशास्त्र अनुसार घरको जग किटान गरिसकेपछि जग हाल्ने साइत हेरिन्छ। साइतको दिन विधिपूर्वक जगमा पूजाप्रार्थना गरिन्छ। घर बनाउने जमिनको पञ्चतत्वलाई समेबजी छरिसकेपछि जगमा ढुंगाको कछुवा राखिने जोशीले बताए। नयाँ जगको पूर्व र उत्तरको बीचमा पर्ने इशानकोण पर्ने स्थानमा कछुवाको मूर्ति राखिने उनले बताए।

निरन्तर प्रचलनमा रहेको परम्पराको वैज्ञानिक र वास्तुशास्त्रीय महत्वको अध्ययन गर्न आवश्यक रहेको जानकार बताउँछन्। पुरातात्विक महत्वका स्तम्भ र भौतिक संरचनाको जगमा ढुंगाका कछुवा राख्ने चलन भए पनि यसको प्राविधिक महत्वको भने त्यति अध्ययन नभएको इन्जिनियर गोपाल झाले बताए।इन्जिनियर झाका अनुसार ढुंगाको कछुवा राख्नु प्राविधिक भन्दा पनि सांस्कृतिक हिसाबले महत्वपूर्ण छ। यद्यपि ढुंगाले जग बलियो बनाउने भएकाले ढुंगाको कछुवा राख्ने यसको चलन सुरु भएको हुन सक्ने उनले बताए।

धार्मिक तथा सांस्कृतिक महत्व:सांस्कृतिक सहर भक्तपुर पुगेका धेरैजसोले दत्तात्रेय मन्दिर अवलोकन गरेका हुन्छन्। मन्दिर वरपर घुम्दै तस्बिर लिन्छन्। मन्दिरको दर्शन गर्छन्। मन्दिरका विभिन्न भागमा कुँदिएका काष्ठकला पनि मानिसको मन लोभ्याउन पर्याप्त छ।त्यही मन्दिरको प्रांगणमा रहेको गरुड स्तम्भ र सिंह स्तम्भको जगमा भने कमैको आँखा पुगेको हुनुपर्छ। दत्तात्रेयको गरुड स्तम्भ र सिंह स्तम्भ ढुंगाको कछुवामाथि उभिएका छन्, जसले नेपाली वास्तु परम्पराको चाखलाग्दो इतिहास बोल्छ।

नेपालको हिन्दू संस्कृतिमा कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मान्ने चलन छ। घरमा कछुवा वा कछुवाको मूर्ति राखेमा धन प्राप्ति हुने विश्वास गरिन्छ। कछुवा धनकी देवीको रुपमा पूजा गरिने लक्ष्मीको वाहन पनि हो। त्यसकारण कुनै पनि पक्की संरचना बनाउँदा जगमा कछुवाको मूर्ति स्थापना गर्ने प्रचलन रहेको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

त्यति मात्र होइन, कछुवालाई गंगाको रुपमा मानिन्छ। कछुवालाई पाताल लोकको जलाशयको प्रतीकको रुपमा समेत मान्ने गरिएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्। ‘पाताल लोकको जलाशयमाथि बसेर कछुवाले मर्त्य लोक वा पृथ्वी लोकको भार थाम्ने जनविश्वास छ,’ श्रेष्ठले भने, ‘कछुवाले संसार थाम्ने परम्परागत विश्वासले जगमा कछुवाको मूर्ति राख्ने चलन चलेको पाइन्छ।’

भक्तपुर दरबार क्षेत्रको तलेजु मन्दिरमाथि कछुवा वाहनसहित लक्ष्मीको मूर्ति पनि रहेको छ। यसरी कछुवालाई लक्ष्मीको प्रतीक र पाताल लोकको प्रतीकको रुपमा वास्तुकलाको महत्वपूर्ण पक्षको रुपमा अंगीकार गरेको परम्परा भेटिन्छ। काठमाडौं उपत्यका प्राचीन इतिहास बोकेका मन्दिर तथा भवनमा कछुवाको मूर्तिलाई विभिन्न रुपमा स्थापित गरिएको जानकार बताउँछन्।

मन्दिर र स्तम्भ मात्र होइन घर, मठ, देवल, फल्चा, स्मारक जस्ता पक्की भौतिक संरचना बनाउँदा समेत जगमा कछुवाको प्रतिमा राख्ने चलन छ। यो चलन विशेषगरी काठमाडौं उपत्यकाको पुराना घर र पुरातात्विक महत्वका भवन तथा मन्दिरमा देख्न सकिन्छ।जगमा कछुवा राखेर भौतिक संरचना निर्माण गर्ने चलन प्राचीनकालदेखि नै रहेको भए पनि काठमाडौं उपत्यकाका पुराना संरचना हेर्दा मध्यकालमा यसको प्रचलनले व्यापकता पाएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्।